ओलीद्वारा गुल्मीमा रेसुंगा र रुरु क्षेत्रको भ्रमण

गुल्मी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गर्नुभएको छ । हिजो नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आउनुभएका ओलीले आज रेसुंगा क्षेत्रको भ्रमण गर्नुभएको हो ।

यस्तै, ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुग्नुभएको थियो । रेसुङ्गामा ओलीले यो क्षेत्र आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा रहेको बताउनुभयो ।

हिन्दु धर्मशास्त्र रामायणको प्रसंग उठाउँदै उहाँले राजा दशरथका सन्तान नभए पछि अयोद्या पुगेर ऋषि ऋष्यशृंगको सुझाव अनुसार पुत्रेष्टि महायज्ञ गरेको बताउनुभयो ।

रेसुङ्गा क्षेत्र ऋषि ऋष्यशृंगले तपस्या गरेको स्थल भन्दै ओलीले चिन्तक, दार्शनिक र सभ्यता सुरु गर्नेहरुको स्थल भएको बताउनुभयो ।

ओलीले गुल्मीकै अर्को धार्मिक क्षेत्र रुरुको पनि अवलोकन गर्नुभएको छ । रुरुक्षेत्रमा उनले बनेको तीन मुखे पुलको पनि अवलोकन गर्नुभएको छ । ओली आज गुल्मीका कार्यक्रम सकेर पाल्पाको कार्यक्रममा जानुभएको छ ।

Back to top button