सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बसेको हो।

हिजो बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा दलहरूले मन्त्रालयबारे आ–आफ्ना दाबी यथावत् राखेपछि आज पुनः नेताहरु छलफलमा जुटेका हुन्।

मन्त्रालयको विषयमा सत्तारुढ दलहरुबीच कुरा नमिलेपछि न्यूनतम साझा कार्यक्रमतर्फ विषय मोडिएको छ। आज पनि न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुनेछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायत नेता सहभागी हुनुहुन्छ।

गठबन्धनको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गर्नुभएको थियो। उक्त मस्यौदा साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा आन्तरिक छलफलपछि थपघट गर्ने तयारी छ।

यसअघि प्रचण्ड नेतृत्वमै एमालेसहितको सरकार हुँदा पनि साझा कार्यक्रम ल्याइएको थियो। तर, गठबन्धन परिवर्तन भएसँगै उक्त कार्यक्रम खारेज गरेर नयाँ ल्याउन लागिएको हो।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिएका जनमोर्चाबाहेक दललाई सरकारमा सहभागी गराउन खोज्नुभएको छ । प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र १ राज्यमन्त्रीसहित ८, माओवादीलाई ४ मन्त्रालय, जसपा र नेकपा एसलाई २–२ मन्त्रालय र १ राज्यमन्त्री दिने गरी खाका तयार गर्नुभएको छ । यीबाहेक लोसपा, जनमत, नागरिक उन्मुक्तिलाई १–१ मन्त्रालय दिएर सरकारमा सहभागिता गराउने प्रयत्न प्रचण्डले गरिरहनुभएको छ ।

यस्तै, एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड एक्लैको काँधमा १६ वटा मन्त्रालयको जिम्मा छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरू नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ।

Back to top button