बारा–२ मा उपेन्द्र यादवलाई उम्मेदवार बनाए जनमतको अपमान हुन्छ : सीके राउत

काठमाडौं। सत्ता गठबन्धन समर्थित दल जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार नस्वीकार्ने बताउनुभएको छ ।
गठबन्धनको नाममा बाहिरबाट नेताहरु ल्याएर उम्मेदवार बनाउने काम स्वीकार्य नहुने उहाँको भनाइ छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राउतले माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टीमा प्रवेश गर्नुभएका शिवचन्द्र कुसवाहलाई उम्मेदवार बनाउने र उहाँलाई नै जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो ।
गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–२ मा उम्मेदवार बन्नुभएका जसपा अध्यक्ष यादव सीके राउतसँग पराजित हुनुभएको थियो ।
अध्यक्ष राउतले ठूलो मतान्तरले पराजित भएका यादवलाई बारा क्षेत्र नम्बर–२ बाट उपनिर्वाचन लडाएमा जनताको मत र स्थानीय नेता–कार्यकर्ताको अपमान हुने बताउनुभयो ।
यस्तै, कार्यक्रममा अध्यक्ष राउतले उपराष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोपसमेत लगाउनुभयो । प्रमुख निर्वाचन आयुक्तले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताए पनि सरकारको दबावका कारण जसपाका पुरुष उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायम गरेर जिताइएको उहाँले आरोप लगाउनुभयो ।

Back to top button