विराट गोल्डकपः फाइनलमा घरेलु टोली विराटनगर र लुका सकर भिड्ने

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) भिड्ने भएका छन् ।

शहीद रंगशालामा भोलि बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्नमा घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि उचाल्ने योजनामा छ ।

विराटनगरले पूर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराएको थियो ।

गत वर्षको लिग विजेता मछिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइलनमा बिमल घर्तीमगरलाई पनि मैदानमा ओरालेको थियो । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले निकाल्नुभएको दुवै क्रस पासमा विराटनगरले संकटलाई २–१ गोलले पराजित गरेको थियो ।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताउनुभयो । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उहाँले भन्नुभयो, ‘दुई लक्ष्य लिएर आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’

विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गर्नुभएको छ । ‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ,’ उहाँले भन्नुभयो,‘केरलाका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’

केरलाको लुका सकर पनि विराट गोल्डकपको पहिलो सहभागितामै उपाधि जित्ने लक्ष्यमा छ । लुका सकरले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

केरलाको प्रिमियर लिगको पाँचौ स्थानमा रहेको टिम लुका सकरका प्रशिक्षक नभास नोकाले सेमिफाइनलमै खेले जसरी फाइनल खेलेर जित्ने दाबी गर्नुभयो ।

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उहाँले बताउनुभयो । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उहाँले भन्नुभयो ।

यस्तै, चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

२०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।

Back to top button