मेयर बालेनलाई प्रधानमन्त्री प्रचण्डको जबाफः विश्वास गर्नुहोस्, यो सरकार ५ वर्षसम्म टिक्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ५ वर्षसम्म जाने बताउनुभएको छ । न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले वर्तमान सरकार ५ वर्षको अवधि सम्मै टिक्ने बताउनुभएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले केन्द्र सरकार अस्थीर रहँदा स्थानीय सरकारलाई पनि काम गर्न अफ्ठ्यारो हुने बताउनुभएको थियो । मेयर शाहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हुने बताउनुभएपछि प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ दिँदै यो सरकार ५ वर्षसम्म जाने दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो,‘मलाई विश्वास छ कि यो सरकार ५ वर्षसम्म जान्छ । परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य दायित्व हो ।’

जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको उहाँको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘स्थानीय तहहरूले संविधान,संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकारसमेत राख्दछन् । यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ।’

संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूहरूसामु रहेको बताउनुभयो ।

वर्तमान सरकार संघीय शिक्षा ऐन,संघीय निजामती ऐनलगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ । ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ ।’

Back to top button