युट्युब र फेसबुकलगायत सामाजिक सञ्जालसँग टिभीले डराउनुपर्दैन

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब,फेसबुक र टिकटकलगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताउनुभएको छ ।

आज बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताउनुभयो ।

‘टेलिभिजनहरु युट्युब,फेसबुक, टिकटक आदिसँग तर्सिएको देख्छु’, उहाँले भन्नुभयो,‘उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, फेसबुक र टिकटकसँग डराउन हुँदैन ।’

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १ हजार ९ सय ८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिनुभयो ।

२०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गर्दै ओलीले ग्यालेक्सी प्रविधि अझैँ नेपालमा आइनसकेको बताउनुभयो ।

Back to top button