सरकारले मिटरब्याज पीडितलाई छलकपट गरिरहेको छ : सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले मिटरब्याज पीडितहरुलाई छलकपट गरिरहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभामा बोल्दै उहाँले राज्यले सम्झौँता गर्ने तर कार्यान्वयन नगर्ने, न्याय माग्न पटक–पटक काठमाडौं आउनुपर्ने बाध्यता रहेको भन्दै राज्यले नै छलकपट गरेको बताउनुभयो ।

सिरहा र महोत्तरीका मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर आन्दोलनका लागि काठमाडौं आएका छन् । रौतहटबाट अर्को समूह पनि काठमाडौं आउने तयारीमा रहेको आफूले जानकारी पाएको सांसद पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नागरिक सधैं दुःखमा पर्ने, आफ्नो जायज माग राख्न पनि काठमाडौं धाउनुपर्ने, राज्य टुलुटुलु हेरेर बस्ने, काठमाडौं आएपछि सम्झौता गर्ने तर कार्यान्वयन नहुने फेरि न्याय माग्दै पटक–पटक धाइरहनुपर्ने, कुनै जाली छट्टुले तानाबाना गरेको छलकपटक गरेको चक्रजस्तोमा नागरिक कतिन्जेल परिरहने ?’

यसअघि नवलपरासीका मिटरब्याज पीडितले पटक–पटक ६१ दिन धर्नामा बसेपछि सरकारले बनाएको कार्यदलले दिएको सुझाव पनि कार्यान्वयन नभएको सांसद पौडेलले बताउनुभयो ।

उक्त सुझाव कार्यदलले मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रुपमा स्वीकार गरे पनि त्यस अनुसार कानुन नबनाउँदा साहुकारहरुले किसानको जग्गा धमाधम हडपिरहेको बताउनुभयो ।

यस्तै, विपन्न नागरिकको आर्थिक अभाव, कानुनी ज्ञान र पहुँचविहीनताको दुरुपयोग गरेर ३ गुणा बढीको तमसुक गराएर किसानलाई भूमिबाट बेदखल गरिरहेको भन्दै पौडेलले न्यायपूर्ण समाजमा यो स्वीकार्य हुन नसक्ने बताउनुभयो ।

Back to top button