नेकपा एस ३ मन्त्रालय नपाए सरकारमा नजाने, भौतिक योजना मन्त्रालयको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले ३ मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले ३ मन्त्रालयको अडान कायमै राख्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो।

‘हामीले ३ मन्त्रालय माग गरेको हिजै प्रस्ट पारिसकेका छौं। प्रधानमन्त्रीजीको तर्फबाट के आउँछ हामी कुरिरहेका छौं। ३ मन्त्रालय नपाए हामी सरकारमा जाँदैनौं,’ उहाँले भन्नुभयो।

प्रवक्ता खतिवडाले प्रधानमन्त्रीले नाम माग्ने वितिकै ३ जनाको नाम दिन पार्टी तयार रहेको बताउनुभयो। ‘हामीसँग नाम रेडी छ। प्रधानमन्त्रीजीले माग गर्नुभएको केही क्षणमै हामी नाम दिन्छौं,’ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो।

उहाँले पार्टीले गठबन्धन निर्माणमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै ३ मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गर्नुभयो।

स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहनुभएका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहनुभएको छ ।

भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपालले जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राख्नुभएको छ ।

अध्यक्ष नेपालले भौतिक योजनासहित ३ मन्त्रालय पाउनुपर्ने अडान राख्नुभएको छ । पार्टीको महासचिवमा घनश्याम भुसाललाई ल्याएपछि बेदुराम रुस्ट हुनुहुन्छ। भुसाललाई भौतिक योजनामा पठाएर अध्यक्ष नेपाल उहाँलाई आश्वासत पार्न खोजेको स्रोतको भनाइ छ।

Back to top button