बारा–२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो बारा–२ मा उपचुनाव लड्ने हुनुभएको छ । लोसपाले बारा–२ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।

महतो गत चुनावमा सर्लाही–२ मा पराजित हुनुभएको थियो। धनुषा–३ छाडेर सर्लाही–२ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्नुभएका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गर्नुभएको थियो।

यस्तै, बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बन्नुभएपछि यहाँ १० वैशाखमा उपचुनाव हुँदैछ ।

जसपाले बारा–२ बाट उपेन्द्र यादवलाई उठाउने तयारी गरिरहेको छ । यादव गत चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । त्यसैगरी राउतले उम्मेदवार बनाउने भन्दै शिवचन्द्र कुशवाहलाई पार्टी प्रवेश गराइसक्नुभएको छ ।

गत ४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८ सय २२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार कुशवाह ३ सय ५४ मतान्तरले पराजित हुनुभएको थियो।

Back to top button