आज रामनवमी पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुर। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा आज श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदै छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन ‘रामनवमी’ मनाइन्छ ।

जनकपुरधाम भगवान रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सितासँग जनकपुरधाममै विवाह भएको मानिन्छ । राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

राम नवमीको अवसरमा जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजापाठ गरिनेछ । त्यसका लागि टाढा टाढाबाट साधुसन्तहरु आइपुगेका छन् । आज बिहानै साधुसन्त तथा श्रद्धालुहरूले गंगासागरमा स्नान गरेर मन्दिरमा पूजापाठ गरेका छन् । दिउँसो जानकी मन्दिर र राम मन्दिरमा भव्य आरती गरिनेछ ।

यस्तै, विष्णुको सातौँ अवतार मानिने भगवान् रामको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँच ग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका ४ नवरात्रमध्येको वासन्तीय नवरात्रको नवमीका दिन जन्मेका भगवान् रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो ।

Back to top button