कांग्रेसका मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गर्नुभएको छ । बालुवाटारमा आज बिहान बसेको बैठकमा उहाँले मन्त्रालय टुंगिएका दलहरुलाई नाम दिन आग्रह गर्नुभएको थियो। त्यसपश्चात कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको हो।

यस्तै, जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुनः २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिनुभयो। केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताउनुभयो।

Back to top button