
काठमाडौं । सिता राना मगर र इन्दु बर्माको शानदार ब्याटिङप्रेरित एपीएफ क्लबले फाइनलमा कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै ललितपुर मेयर कपको उपाधि जितेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले मात्रै १ विकेट गुमाएर १ सय ५४ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोशीले ६ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रनको योगदान गर्नुभयो। यस्तै, लकिता राजवंशीले अविजित २१ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
एपीएफका लागि विनु बुढाले सर्वाधिक २ विकेट लिँदा नेरी थापा, सोनु खड्का र रेखा रावलले कोशी १–१ ब्याटरलाई पेभेलियन फर्काउनुभयो।
पहिलो इनिङमा एपीएफका लागि सिता र इन्दुले १ सय ३६ रनको साभेदारी गर्दै उत्कृष्ट ब्याटिङ गर्नुभयो। सिताले ६८ बलमा ९ चौका र २ छक्कासहित अविजित ७९ रनको इनिङ खेल्नुभयो। यस्तै, इन्दुले ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनको अर्धशकीय इनिङ खेल्नुभयो।
दुवै ब्याटर अविजित रहँदा त्यसअघि विकेटकिपर–ब्याटर ज्योति पाण्डे २ रन जोडेर आउट हुनुभएको थियो। कोशीकी अलिशा खडियाले १ विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे।
विभागीय टिम एपीएफ लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने कोशीले दोस्रो स्थानमा रहेर उपाधि भिडन्तमा स्थान बनाएको थियो।