पशुपतिमा धार्मिक पर्यटकको आकर्षण बढाउन आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरुको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज पशुपति क्षेत्रमा राधा माधव समिति नेपालले निर्माण र व्यवस्थापन गरेको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले पशुपतिमा पूजाआज र दर्शन सकेपछि केही समय विश्रामका लागि बनाइएको उद्यान अझै व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको प्रचार–प्रसार र व्यवस्थापन गर्न सकेमा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताउनुभयो । उहाँले पशुपति क्षेत्रमा भक्तजनका लागि धेरै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी रहेको धारणा पनि राख्नुभयो ।

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रको विकासका लागि बृहत गुरुयोजना निर्माण गरी विशेष महत्वको आयोजनाका रुपमा अघि बढाउँदा स्वच्छ पिउनेपानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभूत र अत्यावश्येक सेवासमेत व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो ।

Back to top button