
दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन् भने ७ जना अझै बेपत्ता छन्।
गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २ सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्।
लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो। जहाजमा आगो लागेपछि यात्रीहरुले हामफालेका थिए।
जहाजमा २ सय भन्दा बढी यात्री रहेको हुनसक्ने र हराउनेको सङ्ख्या धेरै भएको आशङ्का गरिएको एक अधिकारीले बताए। पानीजहाजका यात्रीको नामसूचीमा २ सय ५ जनाभन्दा बढी रहेकाले बेपत्ता हुनेको सङ्ख्या ७ भन्दा बढी हुनसक्ने बताइएको छ ।
१२ जनाको शव भेटिएको जानकारी दिँदै उनले ६ महिनाको १ बच्चासहित ३ बालबालिकाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएका छन्। आगलागीको कारण भने खुलेको छैन। घाइतेहरूलाई उपचारार्थ जाम्बोआङ्गा र बासिलान पुर्याइएको छ।