आजदेखि एसईई परीक्षा सुरु, ५ लाख विद्यार्थी सहभागी हुँदै

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुदैँछ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन्। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन्।

जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन्। बागमती प्रदेशका १ लाख ६ हजार ९ सय ५९ परीक्षार्थीका लागि ४ सय ३४ परीक्षा केन्द्र तोकिएको छ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन्। कर्णालीमा ४१ हजार ३ सय २९ परीक्षार्थी र १ सय ७९ परीक्षा केन्द्र छन्।

Back to top button