मन्त्री छान्न देउवालाई सकस, सम्मानजनक सहभागिता नपाए सरकारमा नजाँने शेखर समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्री छान्न सकस भएको छ । सभापति देउवाले एकलौटी ढंगले मन्त्रीको नाम छनौट गरेको भन्दै शेखर कोइराला समूहले असन्तुष्टि जनाएको हो ।

शेखर समूहले आफ्नो पक्षलाई सम्मानजनक सहभागी नगराए मन्त्रीको नामावली नदिने बताएको छ । आज बिहान शेखर समूहको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो।

पार्टीका सहमहामन्त्री जीवन परीयारले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवालाई पठाएको जानकारी दिनुभयो । परियारले भन्नुभयो,‘सम्मानजनक सहभागिता नपाए हामी सरकारमा जाँदैनौं । सरकार बाहिरै बस्छौं ।’

छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापा,सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री केही नयाँ मन्त्री थपेर आज मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा हुनुहुन्छ। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै दललाई मन्त्रीको नाम माग्नुभएको छ ।

सत्ता गठबन्धन दलभित्र कसले कति मन्त्रालय पाउनेबारे समझदारी भएको छ। जसमा कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २–२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीलाई १–१ मन्त्रालय दिने सहमति भएको छ।

यस्तै, आजै मन्त्रिपरिषद विस्तार हुने भएपछि राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नयाँ मन्त्रीका लागि शपथको समय तोकेको छ।

Back to top button