भद्रपुर नगरपालिकामा पहिचान पक्षधरले लगाएको ताला प्रहरीले फुटायो

विर्तामोड । भद्रपुर नगरपालिकाको कार्यालयमा पहिचान पक्षधरले लगाएको ताला प्रहरीले फुटाएको छ । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै आन्दोलित पहिचान पक्षधरले आज बिहान भद्रपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी गर्ने क्रममा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको थियो । शर्मिला आङदेम्बेको नेतृत्वमा विरोध र्‍यालीसहित नगरपालिकाका पुगेका आन्दोलनकारीहरूले कर्मचारीहरूलाई बाहिर निकालेर कार्यालयको मूल ढोका ताला लगाएका थिए ।

तालाबन्दीपछि आन्दोलनकारीहरू फर्किएलगतै सशस्त्र र नेपाल प्रहरीले ढोकामा लगाएको ताला फुटाइदिएको हो । पहिचानवादीको आन्दोलनका कारण नगरपालिकाको कामकाज समेत प्रभावित बनेको छ ।

यस्तै, पहिचान पक्षधरले भद्रपुर ५ र ६ नम्बर वडा कार्यालयमा लगाएको ताला पनि प्रहरीले फुटाइदिएको छ । उनीहरू नगरभरिका १० वटै वडा कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेकाले जिल्लाको सदरमुकाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।

कोसी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चैत १४ देखि १७ गतेसम्म प्रदेशभरिका सबै स्थानीय तहका कामकाज ठप्प गराउने पूर्वघोषित कार्यक्रम अनुसार तालाबन्दीसहितको विरोध प्रदर्शनमा उत्रिएको हो ।

Back to top button