खानेपानी मन्त्री अब्दुल खानद्वारा राजीनामा

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि खानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको हो ।

गत १० पुषमा प्रचण्डलाई समर्थन गरेको जमनतले सुरुदेखि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । ११ पुषमा विना विभागीयमन्त्री बन्नुभएका खानलाई प्रधानमन्त्रीले ३ माघको मन्त्रिपरिषद् पुनर्गठनका क्रममा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो।

सुरुमा असन्तुष्टि जनाएर मन्त्रालय नगएकाले उहाँले ११ माघमा पदभार सम्हाल्नुभएको थियो। राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन भत्कियो, र कांग्रेससहितको नयाँ गठबन्धन बन्यो । कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने सहमति गरेपछि जनमतले उपप्रधानसहित २ मन्त्रालय आफूहरुले पाउनुपर्ने माग राखेको थियो ।

पछिल्ला छलफलहरुमा प्रदेश–२ को मुख्यमन्त्री र केन्द्रमा उद्योग मन्त्रालय पाउनुपर्ने जनमतको माग थियो ।

त्यसमा सकारात्मक देखिनुभएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उद्योग मन्त्रालय कांग्रेसलाई दिएपछि खानेपानी मन्त्री खानले राजीनामा दिनुभएको हो ।

Back to top button