चितवन–२ मा एमालेबाट जिल्ला अध्यक्ष न्यौपाने उम्मेदवार

चितवन । चितवन क्षेत्र नं.–२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार हुने हुनुभएको छ ।

एमाले जिल्ला कमिटीको आज बसेको बैठकले जिल्ला अध्यक्ष न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । न्यौपानले गत मंसिर–४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं–३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाउनुभएको थिएन् ।

एमालेले चितवन क्षेत्र नं–३ मा कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई सर्मथन गरेपछि न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले माथिबाट नै तानिदिएको थियो ।

एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालिन भएका न्यौपाने युवा नेता मानिन्छ । २०५५ साल र २०५६ साल गरी २ पटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज हुनुभएको थियो । उहाँ २०७८ पुषमा एमालेको चितवन जिल्ला अध्यक्ष हुनुभएको थियो।

चितवन–२ बाट २ पटक जितेका संविधान सभाका सदस्य कृष्णभक्त पोखरेल नउठ्ने भएपछि न्यौपानेले अगाडि सर्नुभएको हो । न्यौपानेसँगै डा. तिलचन्द्र भट्टराई र कालिका नगरपालिकाका पूर्व मेयर खुमनारायण श्रेष्ठ गोपीलाई उम्मेदवार आकांक्षीको रुपमा हेरिनुभएको थियो।

आउदो बैशाख १० गतेको निर्वाचनमा कांग्रेससहितको सत्ता गठवन्धनबाट कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने उम्मेदवार बन्ने पक्का जस्तै बनेको छ ।

गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो क्षेत्रबाट जित्नुभएको थियो। फर्जी नागरिकता पेश गरेर उम्मेदवार बनेको विषयमा सर्वोच्च अदालतले उहाँको नागरिकता नै खारेज गरिदिएपछि पुनः उपनिर्वाचन हुन लागेको हो ।

Back to top button