मिटरब्याज पिडितको सबै माग गर्ने प्रधानमन्त्री प्रचण्ड आश्वासन, माग पूरा नभई घर फर्किन नसक्ने पिडितको अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पिडितहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँग भएको छलफलमा प्रधनमन्त्री प्रचण्डले समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने आश्वासन दिनुभएको छ ।

मिटरब्याज पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ऐनको व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताउनुभयो ।

उहाँले उच्चस्तरीय आयोग ‘र्‍यापिड एक्शन पोस्ट’ सरह काम गर्नेगरी अघि बढाइने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका सबै माग पूरा गर्न आफु तयार रहेको समेत बताउनुभयो ।

प्रधानमन्त्रीलाई समस्या सुनाउँदा भक्कानिएका पीडितहरु आँसु पुछ्दै समस्या सुनाइरहे । सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका करिब सय जना पिडित ऋणको भारीले थिचेपछि न्याय खोज्दै काठमाडौं पुगेका हुन् ।

उनीहरुले सरकारी वार्ता टोलीसँग पटक–पटक सहमति भएपनि कार्यान्वयन नभएको भन्दै माग पूरा नभई घर फर्किन नसक्ने बताएका हुन् ।

उनीहरुले आफूहरु प्रतिनिधि पात्र मात्र भएको र गाउँमा सबैको पीडा उस्तै रहेको भन्दै तमसुक व्यवस्था खारिज गर्नुपर्ने, मिटरब्याज पीडतहरूको पक्षमा कानुन निर्माण गर्नुपर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग राखेका छन् ।

साहुहरूले हडपेको जग्गा फिर्ता गर्नुपर्ने, पीडकमाथि सहजरुपमा मुद्दा दर्ता गर्न पाउनुपर्ने, अदालतले पीडितहरूलाई जारी गरेको पक्राउ पूर्जी छानबिन नगरेसम्म कार्यान्वयन रोक्नुपर्ने, नक्कली तमसुकको आधारमा जेल चलाउन भएका पीडितहरूलाई क्षतिपूर्तिसहित ससम्मान रिहा गर्नुपर्ने, बैंकबाट ऋण सहज र सरल व्यवस्था गर्नुपर्ने, वैदेशिक रोजगारमा जान चाहने युवाका लागि सरकारको ग्यारेन्टीमा सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने माग पिडितहरुको छ।

Back to top button