
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिसनको खेलमा लाग्ने गरेको पाइएको बताउनुभएको छ ।
पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उहाँले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिसनको खेलमा लाग्ने गरेको कुरा थाहा पाएको बताउनुभएको हो ।
पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिसन आउँछ, त्यतै लाग्ने गरेको बताएको उहाँले सुनाउनुभयो । ‘विकास कोषका साथीहरु कहाँबाट कमिसन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त ।’ उहाँले भन्नुभयो ।
पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको उहाँको भनाइ छ । त्यहाँ जाने दर्शनार्थीहरुले टवाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उहाँको गुनासो थियो ।
मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाइमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताउनुभयो।
उहाँले सो क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाइका लागि सबै सुध्रनुपर्ने बताउनुभयो ।