
काठमाडौं । छिमेकी चीनसँगको रसुवागढी नाका हिजोदेखि पूर्णरूपमा खुला गरिएको छ। कोभिड–१९ का कारण चीनले आंशिक रूपमा मात्रै नाका खुला गरेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा हिजो नेपाली सामग्री र सवारी चीन पठाइएको थियो। दुवै देशका प्रतिनिधिको उपस्थितिमा चीनको पास लिएका नेपाली नागरिकलाई पनि केरुङ जान दिइएको थियो।
कोरोना महामारीपछि २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका पूर्णरूपमा बन्द थियो। त्यसयता नाका आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाकाबाट अब नेपाली सवारीसाधन केरुङसम्म जान पाउने बताउनुभयो।
उहाँका अनुसार अब मानिसको आवतजावत पनि पूर्णरूपमा खुलेको छ। नाका खुलेसँगै हिजो नै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री बोकेका २४ मालवाहक कन्टेनर केरूङ गएका छन्। अन्य सामग्री आयातका लागि ६३ वटा कन्टेनर पनि केरुङ गएका छन्।
चीनको ल्हासामा गत बुधबार बसेको नेपाल चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेको थियो।
केरुङ जानुपूर्व नेपाली चालक, कामदार, व्यापारी तथा व्यवसायीको एन्टिजेन परीक्षण गरिएको थियो। नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै नेपाल चीन आगमन प्रस्थान अनुमतिपत्र (चाइना पास) भएका नेपाली कामदार, व्यापारी तथा व्यवसायी केरुङ गएका छन्।
चीनले रसुवागढी नाकाबाट व्यापार गर्न तथा आवतजावतका लागि रसुवाका नागरिकलाई पास उपलब्ध गराउने गरेको छ।