प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जारी गर्नुभएको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व.२०७८–०७९)’पेस गर्नुहुने छ ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल गरेर पारित गर्ने कार्यसूची पनि छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् प्रस्ताव गर्नुहुने छ ।

त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। र त्यसपछि पुनः सभापति केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

सभामुखले गर्ने काम कारबाहीको संशोधन प्रस्तावबाट सत्तारूढ दलका सांसद पछि हटेका छन्। सभामुख देवराज घिमिरे र प्रतिनिधि सभाका दलका प्रमुख सचेतकबीच हिजो संशोधन प्रस्तावमा उल्लेख गरिएको सभामुखको अधिकारको विषयमा छलफल भएपछि सहमति भएको हो।

Back to top button