अर्थमन्त्री महतसँग उद्योग वाणिज्य महासंघको टोलीको भेटवार्ता

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी टोलीले भेटवार्ता गरेको छ ।

आज बिहान अर्थ मन्त्रालयमा भएको भेटमा अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गराउनुभएको थियो ।

सो भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिनुभएको छ । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको सुझाव थियो ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन तर्फपनि उहाँले जोड दिनुभयो । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिनुभयो । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उहाँको आग्रह थियो ।

अहिले सरकारसँग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उहाँको सुुझाव थियो ।

यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्‍याउने सुझाव दिनुभएको छ ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्र्याउन दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गर्नुभयो । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न अध्यक्षको जोड थियो ।

राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्नु पर्ने उहाँको सुझाव थियो ।

यस्तै, नवनियुक्त अर्थमन्त्री डा. महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेको बताउनुभयो। उहाँले यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने बताउनुभयो ।

Back to top button