बारा–२ मा सबै दलका उम्मेदवारलाई सबक सिकाएर एमालेले जित्छ : महेश बस्नेत

वीरगन्ज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले जसपा अध्यक्ष उपेन्द्र यादव तीनवटा टाउको भएको नागको रूप धारण गरेर चुनाव जित्न बारा–२ मा आएको टिप्पणी गर्नुभएको छ ।

वैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ मा जसपाबाट उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी छ। यादवलाई कांग्रेस र माओवादी केन्द्रले समर्थन गरेका छन्।

आज वीरगन्जमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पर्सा जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो,‘जसपा, कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार उपेन्द्रजी ३ वटा टाउको भएको नागको रूप धारण गरेर फेरि मधेसमा चुनाव लड्न आउनुभएको छ, उहाँलाई बारा–२ का जनताले अवश्य सबक सिकाउने छन्।’

कुनै जमानामा आफूलाई मधेसको मसिहा नै ठान्ने उपेन्द्र यादवको दलले मधेसमा सत्ता सम्हालेको ६ वर्ष बित्न लाग्दा समेत मधेसको अवस्था झन्झ–न् दयनीय बन्दै गएको पनि बस्नेतले बताउनुभयो।

उहाँले भन्नुभयो,‘मानव विकासको हरेक सूचांकमा मधेस प्रदेश सबैभन्दा पछाडि छ, सबैभन्दा बढी गरिबी मधेसमै छ , खाडीमा जाने पनि सबैभन्दा बढी मधेसकै दाजुभाइ छन् , यो सबको जिम्मेवार उपेन्द्रजी र उहाँको दल जसपा नै हो।’

यस्तो बताउदै उहाँले गत मंसिर ४ को निर्वाचनमा सप्तरी–२ का जनताले सबक सिकाएर पठाएका उपेन्द्र यादवलाई अब बैशाख १० मा बारा–२ का जनताले पनि सबक सिकाउने बताउनुभयो।

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने रमेश खरेल प्रति कटाक्ष गर्दै बस्नेतले भन्नुभयो,‘काठमाडौं–१ का जनताले हराएका रमेश खरेलजी चुनाव जित्न नयाँ पार्टीको खोल ओढेर मधेसमा आउँदै हुनुहुन्छ, उहाँलाई बारा–२ का मधेसी जनताले पनि राम्रैसँग सबक सिकाएर पठाइदिने छन्।’

बारा–२ मा एमालेले जनताका प्रिय र योग्य उम्मेदवार चयन गर्ने बताउँदै बस्नेतले भन्नुभयो,‘एमालेबाट को व्यक्ति उम्मेदवार बन्छ भन्ने कुराले त्यति महत्व राख्दैन, तर म ठोकुवा गरेर भन्छु बारा–२ मा एमालेले जित्छ जित्छ ।’

Back to top button