लघु चलचित्र प्रतियोगिता हुने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ।

मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने बोर्डले जानकारी दिएको छ।

बोर्डका अध्यक्ष भुवन केसीले लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरि वैशाख १० गतेसम्म बोर्डको कार्यालय वा इमेलमार्फत बुझाउनुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रलाई पुरस्कृत गरिने छ ।

प्रथम द्धित्तिय र तृतिय हुने चलचित्रलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउने केसीले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्ने प्रावधान राखेको छ ।

यस्तै सूचना प्रकाशित मिति भन्दा तीन वर्षअघि सम्म निर्माण भएका र बोर्डबाट इजाजत लिएका चलचित्रले मात्र भाग लिन पाउनेछन् ।

Back to top button