रौष प्रकट गर्दै वीरगन्ज महानगरले खन्यायो टेलिकम कार्यालयमा फोहोर

वीरगन्ज । सडक मर्मतमा ढिला सुस्ति गरेको रौष प्रकट गर्दै वीरगन्ज महानगरपालिकाले टेलिकम कार्यालय परिसरमा फोहोर खन्याएको छ ।

महानगरका विभिन्न स्थानमा सेवा विस्तारका क्रममा टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको झोंक फेर्दै महानगरले बिहान श्रीपुरस्थित टेलिकमको प्रादेशिक निर्देशनालयमा फोहोर खन्याएको हो ।

महानगरपालिकाले वीरगन्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम भवनको मुख्य गेट अगाडि खन्याएको छ ।

महानगरका मेयर राजेशमान सिंहका अनुसार टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा बाइपास सडकखण्डको कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ।

खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि अटेरी गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहोर फ्याक्नु परेको उहाँले बताउनुभयो ।

यसअघि फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्तभित्रै मर्मत गरिसक्ने लिखित सहमति भएको थियो ।

महानगरपालिकाले सहमति कार्यान्वयनका लागि टेलिकमलाई पटक–पटक आग्रह गरेपनि अटेर गरेको आरोप लगाएको छ ।

जनतामा महानगरपालिकाले काम गरेन भन्ने सन्देश गइरहेको तर यहाँ अन्य निकायले गल्ति गरेको भन्दै दवाव दिन यस्तो गर्नुपरेको महानगरपालिकाले जनाएको छ ।

टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक अनन्त प्रकाश मल्लिकले महानगरपालिकाले कानूनी राज्यको उपहास गरेको प्रतिक्रिया दिनुभयो ।

नेपाल टेलिकम पनि राज्यको सम्पति भएको भन्दै उहाँले टेलिकम भित्र फोहोर फाल्ने कार्य कानूनी राज्यको उपहास मात्रै नभई अराजकता पनि रहेको बताउनुभयो ।

यस बिषयमा जिल्लाका सुरक्षा निकायका प्रमुखदेखि टेलिकमको केन्द्रीय कार्यालयसम्म आफूले जानकारी गराइसकेको मल्लिकले बताउनुभयो ।

खनिएका सडक र फुटपाथ मर्मतको काममा केही ढिला भएको स्वीकार्दै उहाँले दुई किलोमिटरमध्ये डेढ किलोमिटरको काम सम्पन्न भइसकेको र बाँकीप् पनि काम भइरहेको बताउनुभयो ।

Back to top button