चीनको चेतावनीका बिच ताईवानकी राष्ट्रपति र अमेरिकी सभामुखबिच भेटवार्ता हुने

चीनको चेतावनीका बाबजुद अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले ताइवानका राष्ट्रपति साई इङ वेनसँग भोली भेटवार्ता गर्ने हुनुभएको छ ।

ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा बुधबार ताइवानी नेताले सभामुख म्याकार्थीसँग रोनाल्ड रोगन पुस्तकालयमा द्विपक्षीय बैठक गर्ने सभामुखको कार्यालयले पुष्टि गरेको छ।

गत साता न्युयोर्क हुँदै ग्वाटेमाला जाने क्रमममा त्यहाँ रहनुभएकी ताइवानी राष्ट्रपतिले त्यहाँस्थित हडसन इन्स्टिच्युटलाई सम्बोधन गर्नुभएको थियो । ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी बेइजिङले दिएको छ।

सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउन सक्ने बेइजिङले बताउँदै आएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उहाँले सभामुखलाई भेट्नु सामान्य रहेको प्रतिकृया दिँदै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेको स्मरण गराउनुभएको छ ।

गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो।

बाह्य दबाबले विश्वका विभिन्न मुलुकसँग सम्बन्ध कायम गर्ने ताइवानको संकल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताउनुभएको थियो । उहाँले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने समेत बताउनुभएको थियो ।

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ।

राष्ट्रपति साईमाथि चिनियाँ दबाब यस्तो समयमा आएको छ जतिबेला ताइवानले अमेरिकासँगको सम्बन्धलाई अनौपचारिक रूपमा भए पनि सुदृढ गर्ने प्रयास गरेको छ।

Back to top button