एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उहाँको टिमले आज मनोनयन दर्ता गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामूहिक उम्मेदवारी दर्ता गरेको हो।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गर्नुभएको छ , जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्नुभयो।

समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो।

‘अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरू सुनिनुपर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरूको पहुँचमा हुने गरी काम गर्नुपर्दछ’ उहाँले भन्नुभयो,‘अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ।’

आफ्नो टिमले सम्भावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उहाँले जाहेर गर्नुभयो।

Back to top button