
काठमाडौं । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद–२’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । सुदर्शन थापाले निर्देशन गरेको प्रसाद–२ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।
फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो ।
अदालत जानुअघि उहाँले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोज्नुभएको थियो। तर, बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुग्नुभएको थियो।
आज न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले प्रसाद–२ को प्रदर्शन रोक्न आदेश दिएको हो । उहाँको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिनुभयो ।
चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई प्रसाद–२ को निर्माताका रुपमा चिनाइएको थियो । तर, अहिले चलचित्रमा उहाँको नाम छैन ।
फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । उहाँलाई प्रहरीले खोजिरहेको छ ।