एमाले अध्यक्ष ओली सिमरामा

सिमरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सिमरा आउनुभएको छ । बारा र पर्सामा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन ओली सिमरा आउनुभएको हो ।

ओलीलाई सिमरा विमानस्थलमा एमालेका नेताकार्यकर्ताले स्वागत गरेका थिए । उहाँले वीरगन्जमा आयोजना हुन लागेको अखिल नेपाल पिछडावर्ग महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । पिछडावर्ग महासंघको कार्यक्रममा सहभागी भएर ओली बाराको बरियारपुर जाने कार्यक्रम छ ।

बारा क्षेत्र नं.–२ को उपनिर्वाचन केन्द्रीत क्षेत्रीय भेलामा सहभागी हुन ओली बरियारपुर जान लाग्नुभएको हो । क्षेत्रीय भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली आज नै काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीले जानकारी दिनुभयो ।

बारा क्षेत्र नं–२ को उपनिर्वाचनमा एमालेले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी मनोनयन गरेसँगै पौडेल चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ ।

उक्त क्षेत्रमा जसपाबाट केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल,आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार हुनुहुन्छ ।

Back to top button