अबको दुई दिनभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अबको एक–दुई दिनभित्र नै पूर्णता पाउने बताउनुभएको छ ।

आज बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको राष्ट्रिय भेलामा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउँछ । यसपछि हामी नीति,कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ ।’

प्रधानमन्त्री प्रचण्डले परम्परागत नीति,कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन नगर्ने बताउनुभयो । विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याइने बताउनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो,‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने,अर्थनीति कस्तो हुने,शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो,गम्भीर,बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ ।

त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो । समाजवादउन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ ।’

‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ–नीजि,साझेदारी र सहकारी । यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ । संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ,त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।’

‘संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्,’ उहाँले भन्नुभयो,‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ ।

सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन । त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण,परिचालन,बजारीकरण आवश्यक छ ।’

Back to top button