अर्थमन्त्री महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) अर्नाउड काउचियोसले भेट गर्नुभएको छ । आज बिहान अर्थमन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो ।

दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र यसैक्रममा आज भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेकोबारे उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन् ।’

यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतले बताउनुभयो । विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उहाँको भनाइ छ। जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री महतले भन्नुभयो,‘नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन् । यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ ।’

खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताउनुभयो । उहाँले हिजो विश्व बैंकको प्रतिनिधिमण्डलसँग पनि भेट गर्नुभएको थियो।

Back to top button