उपमेयर कार्कीको नेतृत्वमा विराटनगरमा संयुक्त बजार अनुगमन

विराटनगर । मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा आज संयुक्त बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आनन्द स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय कामदार रहेको पाइएको उपमेयर कार्कीले बताउनुभयो ।

वैदेशिक कामदार राख्दा श्रम ऐन–२०७४ र सोको नियमावलीको समेत बेवास्ता गरी स्वीट पसलले १२ वर्षदेखि निरन्तर रुपमा मीठाइ पसल सञ्चालन गरेको पाइएको छ ।

उक्त पसलले पिउने पानीको बोतलमा एमआरपीसमेत उल्लेख नगरेको, खरिद र बिक्री बिल मूल्यांंकन गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा राखी बिक्री गरेको पाइएको छ । अनुगमन टोलीले स्वीट पसललाई आवश्यक कागजातसहित ३ दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिएको छ ।

‘मूल्य, गुणस्तर र नापतौलका विषयमा उपभोक्ताबाट व्यापक गुनासो आएपछि हामीले संयुक्त बजार अनुगमन गरेका हौं’, उपमेयर कार्कीले भन्नुभयो, ‘महानगरसहित तीनै तहका सरकारका उपभोक्ता हितसँग सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागितामा संयुक्त बजार अनगुमन गरिएको हो । यो महानगरको नियमित अनुगमन पनि हो ।’

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको उपप्रमुखलाई बजार अनुगमनको प्रमुख जिम्मेवारी तोकेको छ । त्यस्तै जलजला रोडस्थित बजरंग ज्वेलर्सको अनुगमन गर्दा कालीगढ तथा कामदारहरूलाई श्रम ऐन विपरीत हुनेगरी पारिश्रमिक दिएको पाइएको छ ।

आफ्नो पारिश्रमिकका विषयमा कामदारसमेत अनभिज्ञ रहेको र कामदारहरूको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरीदा श्रमिकहरूको अधिकारबाट वञ्चित रहेको पाइएको महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल जानकारी दिनुभयो ।

टोलीले खाद्य, लत्ताकपडा, सुनचाँदी, जुत्ताचप्पल, होटललगायतका पसलहरूको अनुगमन गर्ने कार्यक्रम भए पनि व्यापारीहरूले पसल बन्द गरेका कारण आजको पूर्वनिर्धारित अनुगमनलाई स्थगित गरिएको थियो । अनुगमन टोली पुगेपछि व्यापारीहरूले पसल बन्द गरेका थिए । व्यापारीहरूले पार्किङको कारण देखाउँदै पसल बन्द गरेका थिए ।

‘व्यापारीहरूले हामी पुग्ने बित्तिकै पसल बन्द गर्न थाल्नुभयो’, पौडेलले भन्नुभयो, ‘यो नियमित र संयुक्त अनुगमन भएकाले महानगरले अघि सारेको पार्किङ व्यवस्थापनसँग कुनै सम्बन्ध रहदैन ।’

अनुगमनमा महानगरका आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, बजार निरीक्षण अधिकृत सरोजकुमार गौतम, महानगरका धीरज राई, गुणस्तर तथा नापतौल कार्यालयकी सुशीला तामाङ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वीरेन्द्रकुमार दास, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका दीर्घबहादुर घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका तारानाथ भट्टलगायत तीनै तहका सरकारका कर्मचारी प्रतिनिधिको सहभागिता रहेको थियो ।

Back to top button