रवि लामिछानेको राहदानीसम्बन्धी रिटमा सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी रिट निवेदनमा सुनुवाइ जारी छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।

हिजो न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा रिटको पेसी तोकिए पनि पछि हेर्न नमिल्नेमा राखिएको थियो। रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन गत सोमबार दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध दायर गर्नुभएको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।

यसअघि नै उहाँले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले नागरिकता विवादमा लामिछानेलाई दोषी ठहर गरेको थियो।

फैसलासँगै लामिछानेको सांसद ,उप्रधानमन्त्री, गृहमन्त्री पद गुमेको थियो। पछि जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसक्नुभएको छ ।

महान्यायाधिवक्ता डा. पोखरेलले यही चैत ६ गते लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गर्नुभएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयहुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेपछि सो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको हो।

Back to top button