कोशी प्रदेश सरकारलाई सहयोग गर्न विभिन्न समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारको सहयोगका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । आज बसेको मन्त्रीपरिषदको बैठकले सरकारलाई सहयोग गर्ने गरी विभिन्न समिति गठन गरेको हो ।

सिंचाईमन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा पूर्वाधार विकास मन्त्री दुर्गा चापागाईं, कृषि मन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहनुभएको छ ।

सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा पर्यटनमन्त्री जीवन आचार्य, स्वास्थ्यमन्त्री निर्मला लिम्बू र कृषिमन्त्री भक्ति सिटौला सदस्य रहने गरी कानून न्याय तथा प्रदेश मामिला समिति गठन भएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गा प्रसाद चापागाईंको संयोजकत्वमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी, कृषिमन्त्री भक्ति सिटौला र स्वास्थ्यमन्त्री निर्मला लिम्बू सदस्य रहेको आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन भएको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री भक्ति सिटौलाले जानकारी दिनुभयो ।

यस्तै बैठकले संघीय सरकारसँग ३ अर्ब ४८ करोड ३६ लाख रुपैयाँ माग गर्ने निर्णय गरेको छ । संघबाट हस्तान्तरण भएर आएका पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाका लागि ३ अर्ब ४८ करोड ३६ लाख ५० हजार रुपैयाँ अपुग थियो ।

Back to top button