मोरङबाट एसईई दिने १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती मा.वि.मा ५२,केराबारी गाउँपालिकास्थित सार्वजनिक मा.वि.मा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता मा.वि.मा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

हिजो मोरङको ग्रामथानस्थित सरस्वती मा.वि.मा १ युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ गरेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ।

प्रवक्ता दाहालका अनुसार प्रहरीले हिजोबाटै परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो । यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट प्रहरीले अनुसन्धान सुरू गरेको उहाँले बताउनुभयो ।

हिजो खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै आज सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।

मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिनुभयो ।

यस्तै, पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उक्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उहाँले बताउनुभयो।

Back to top button