व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस आवश्यक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत उहाँले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गर्नुभएको हो ।

आउदो वैशाख १० गते हुने उपनिर्वाचनमा धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार भएको भन्दै उहाँले यो खुसीको कुरा भएको बताउनुभयो ।

‘युवामय उपचुनाव १ वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो ।

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ,‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन ।

अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना ।’

अध्यक्ष ओलीले यसअघि मंसिर ४ गते भएको आम चुनावमा पनि शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिनुभएको थियो ।

Back to top button