मोरङबाट एसईई दिने नक्कली परीक्षार्थीको संख्या २ सय नाघ्यो

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने २ सय १ जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङका ३ वटा परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने २ सय १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले हिजो २ जना र आज १ सय ९९ जना गरी २ सय १ जनालाई पक्राउ गरिएको बताउनुभयो ।

प्रहरीले ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना,केराबारी गाउँपालिकाको सार्वजनिक माविबाट १ सय २७ जना र सुन्दरहैचाको जनता माबीबाट २० जनालाई परीक्षा दिरहेको अवस्थामा पक्राउ गरेको हो ।

सामाजिक शिक्षातर्फ परीक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थी पक्राउ परेका हुन् । सो परीक्षा केन्द्रमा २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै आएका थिए। परीक्षा दिने मध्ये झण्डै आधा परीक्षार्थी पक्राउ परेका हुन्।

५३ जना विद्यार्थी पक्राउ परेको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा २ सय ९२ जना विद्यार्थीले परिक्षा दिदै छन् । सुन्दरहरैंचा नगरपालिकाको जनता माविमा ३ सय ११ जनाले परीक्षा दिदै आएका छन् । ती मध्ये २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको प्रहरीले बताएको छ ।

हिजो ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा कल्पना लिम्बूको परीक्षा दिने सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बू पक्राउ पर्नुभएको थियो । लिम्बू पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको हो।

‘परीक्षा फारम भर्ना एउटाको फोटो रहेछ, प्रवेश पत्रमा फोटो फेरेको देखियो,’ डिएसपी दाहालले भन्नुभयो,‘भेरिफाई गर्दा आफ्नो जन्ममिति पनि भन्न सकेनन् ।’ यो घटनाले परीक्षा प्रणालीका बारेमा सोच्न बाध्य बनाएको उहाँले बताउनुभयो ।

एसईईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह नै सक्रिय रहेकाले अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

Back to top button