उपेन्द्र यादवलाई भोट माग्न माधव नेपाल बारामा

बारा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल उपनिर्वाचनका उम्मेदवार उपेन्द्र यादवका लागि मत माग्न बारा पुग्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहनुभएका यादवलाई मत माग्न उहाँ बारा–२ पुग्नुभएको हो ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको समेत बताउनुभयो । हिजो साँझ कलैया पुग्नुभएका उहाँले बारा–२ मा यादवको जित सुनिश्चित रहेको पनि बताउनुभयो ।

‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु’ उहाँले भन्नुभयो।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै उहाँले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गर्नुभयो।

Back to top button