मिल्स टि–२० क्रिकेट प्रतियोगिताः नरपथगन्ज र एनबीएससी फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिताको उपाधिको लागि भारत विहारको नरपथगन्ज क्रिकेट क्लब र एनबीएससी क्लव प्रतिष्पर्धा गर्ने भएका छन् ।

आजको खेलमा आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो ।

उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग प्रतिष्पर्धा गर्ने भएको हो । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो ।  नरपथगन्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगरले १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सिमित बन्न पुग्यो । जसमा विराटनगरका अरुण एडिले २९ रन बनाउँदा अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोड्नुभयो ।

नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिँदा सक्षमत शर्मा र रवण कुमारले समान २–२ विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाइ १९८ रन बनाएको थियो । नरपथगन्जका अभिषेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेल्नुभयो ।

अभिषेकले २० बलमा ५९ रन बनाउँदा विजय भारतीले ५५ रनको योगदान दिनुभयो । विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै ४ विकेट लिनुभयो भने भुलावन सनीले ३ विकेट लिदा मन्जिल श्रेष्ठले १ विकेट लिनुभयो । म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित हुनुभयो ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउने छन् भने उपबिजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिनुभयो ।

Back to top button