दिगो विकास लक्ष्य हासिल गर्न सबैको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताउनुभएको छ ।

संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

बैठकमा उहाँले भन्नुभयो,‘दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन । यसमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।

त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार नयाँ आर्थिक वर्षको नीति,कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायहरूलाई निर्देशन दिनुभयो ।

सो बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्यका निम्ति नेपालले गरिरहेको प्रयास र प्रगतिसम्बन्धि आफ्नो प्रस्तुति राख्नुभएको थियो। अन्तर्राष्ट्रियरूपमा प्रतिवद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिँदै आएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘हामीले यस अवधिमा गरिबी निवारणमा उल्लेख्य प्रगति हासिल गरेका छौं । बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ ।

समग्र स्वास्थ्य सुविधाहरूमा जनताको पहुँचमा वृद्धि भएको छ । तर पनि पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्‍याउनुपर्ने भएको छ ।’

Back to top button