कर संकलन अभियानलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम

विराटनगर । विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्य समेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गर्नुभयो । तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् ।

महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । यसरी तोकिएका सम्पर्क व्यक्तिले स्वयमसेवकहरुसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा समेत सहजीकरण गर्दै आएका छन् ।

करका विषयमा समस्या आए सम्पर्क व्यक्तिहरुले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर संकलन अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।

आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उहाँको भनाइ थियो । सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर संकलन अभियान प्रभावकारी भएको तर्क गर्नुभयो ।

दुईदिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्नुहुनेछ ।

Back to top button