विश्वविद्यालयबाट उत्पादित जनशक्ति समाज रूपान्तरणको सहयोगी हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको छ ।

आज महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक,जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ ।’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको ढाँचाको खोजी र समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन हुनुपर्ने बताउनुभयो। उहाँले आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी रहेको बताउनुभयो।

उहाँले उच्चशिक्षा प्राप्त गर्न राजधानी काठमाडौं तथा भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति बोकेका सुदूरपश्चिमका जनताको उच्चशिक्षामा पहुँच कायम गर्न यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले दीक्षित विद्यार्थीले आफूलाई समाजमा सभ्य,शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ पूरा गर्नेमा विश्वास व्यक्त गर्नुभयो।

 

Back to top button