आयातित तरकारीको विषादी परिक्षण रोक्ने निर्णय भएको छैनः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तरकारीको विषादी परिक्षण रोेक्ने निर्णय नभएको बताउनुभएको छ ।

आयातित तरकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको दावी गर्दै उहाँले यस्तो निर्णय नगरेको बताउनुभयो ।

प्रेस सेन्टर चितवनले बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिनुभयो ।

यसअघि समितिहरु गठन नहुँदा निर्णय हुने स्थिति नभएको भन्दै उहाँले अहिले समिति गठन भइसकेकाले यो विषय छिटो टुंगो लाग्ने बताउनुभयो ।

उहाँले सीमा क्षेत्रबाट हुने तरकारी र पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा निकायलाई कडा निर्देशन दिइएको भन्दै अवैध आयातका कारणले देखिएका समस्या समाधान गरिने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो प्रकरणको पनि अनुसन्धान गरिने बताउनुभयो ।

Back to top button