कांग्रेस सभापति देउवालाई प्रमुख विपक्षी दलको नेताको सुविधा दिने तयारी

काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने तयारी गरेको छ ।

गत ४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुषमा शपथ ग्रहण गरेका थिए । १० पुषमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको थियो ।

त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । २६ पुषमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । यही बेला संघीय संसद सचिवालयले सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित त्यस अनुसार पाउने सुविधा कांग्रेस सभापति देउवालाई दिने तयारी गरेको हो ।

संघीय संसद सचिवालयका अनुसार कांग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सेवा सुविधा प्राप्त गर्नुहुने छ ।

शेरबहादुर देउवा १० पुष २०७९ देखि ४ चैत २०७९ सम्म प्रमुख विपक्षी दलको नेता रहेको भनी संसदले विपक्षी दलको नेताको हैसियतमा प्राप्त हुने सेवा सुविधा दिने तयारी गरेको हो ।

यहि ५ चैतमा कांग्रेसले सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेस सरकारमा सहभागी भइसकेको छ ।

कांग्रेस सरकारमा सहभागी भइसकेपछि सहभागि हुनुभन्दा अगाडि प्रमुख विपक्षी दलको बेन्चमा बसेको आधारमा देउवालाई सुविधा दिने तयारी गरेको हो ।

संसद सचिवालयले यसअघि विवाद रहेको भनी देउवालाई अन्य सांसदले पाउने सरह सुविधा उपलब्ध गराएको थियो ।

Back to top button