कर्णाली सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

वीरेन्द्रनगर । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमालेले हिजो सरकारबाट बाहिरिएसँगै आज पार्टीको कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजदेखि लागू हुने गरी नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारमा सहभागी एमालेका ३ जना मन्त्रीले हिजो राजीनामा दिएका थिए। यसअघि पुष १० गतेको समीकरणअनुसार पुष २७ गते माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो।

राष्ट्रपति निर्वाचन पछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १७ गते दोस्रो पटक पनि एमालेले प्रदेश सरकारलाई समर्थन दिएको थियो। चुनाबी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरूको भनाइ छ।

प्रदेश सरकारमा नेकपा एमालेका प्रदेश अध्यक्ष एवं सांसद विनोद शाहले प्रदेश सरकारकामा पनि चुनाबी गठबन्धन ब्यूँतिएकाले आफूहरूले दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘अब हामी संसदको प्रमुख प्रतिपक्ष दल भएर सरकारलाई रचनात्मक सहयोग गर्छौँ ।’

यस्तै, प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन्। योसँगै मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ।

Back to top button