प्रधानमन्त्री ज्यूले निर्देशन दिने कामबाहेक केहि गर्न सक्नुभएन् : एमाले

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको आरोप लगाउनुभएको छ ।

आज संसद्को विशेष समयमा बोल्दै एमाले प्रमुख सचेक गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर,उपलब्धी केहि हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन।’

उहाँले युवाहरू गह भरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताउनुभयो । गिरीले भन्नुभयो,‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त्री ज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न?’

उहाँले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताउनुभयो । गिरीले भन्नुभयो,‘हरेक ठाउँमा जानुहुन्छ निर्देशन मात्रै दिनुहुन्छ । आश्वासन पुरा भए भएनन् भन्ने चिन्ता छैन प्रधानमन्त्रीज्यूलाई।’

Back to top button