स्वास्थ्यमन्त्रीको भाउ २ करोड रहेछ,अरु मालदार मन्त्रीहरुको झन् कति होला : सांसद पोखरेल

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले स्वास्थ्यमन्त्रीको भाउ २ करोड रहेछ भनी टिप्पणी गर्नुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे बोल्दै उहाँले भन्नुभयो,‘स्वास्थ्यमन्त्रीको भाउ २ करोड रहेछ । अरु–अरु मालदार मन्त्रीहरुको झन् कति होला?’

सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकको मान्छेले २ करोड माग गरेको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।

भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलले बताउनुभयो ।

‘एउटा त एक्पोज भयो । एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो । जनतामा निराशा र चरम अविश्वास पैदा गरायो’ उहाँले भन्नुभयो,‘दल र तिनका नेताहरुप्रति सामाजिक रुपमै बहिष्करण हुनसक्ने अवस्थाको सिर्जना गरायो ।’

Back to top button