बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा झर्‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा झरेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्‍य दिवसको अवसरमा सम्बोधन गर्दै उहाँले सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएको भन्दै बुहआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा झरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘सरकारको प्रयासबाट सामाजिक र आर्थिक क्षेत्रमा केही प्रगति हासिल भएका छन्। बहुआयामिक गरिबी १७ दशमलव ४ प्रतिशतमा झरेको छ।’

प्रधानमन्त्री प्रचण्डले नेपाल सन् २०३० सम्म दिगोविकास लक्ष्य हासिल गर्ने र २०२६ मा अल्पविकसित देशबाट स्तरोन्नति हुने दिशातर्फ गइरहेको बताउनुभयो।

यसका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी वृद्धि गर्नुपर्ने र लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको बताउनुभयो। आधारभूत तहमा भर्नादर ९५ प्रतिशत पुगेको उहाँको भनाइ छ।

आधारभूत खानेपानी सुविधा ९५ प्रतिशत जनासंख्याको पहुँचमा पुगेको भन्दै प्रधानमन्त्री प्रचण्डले केही समयभित्रै सतप्रतिशत जनताको घरमा विद्युत पुर्‍याउने रणनीति तयार भएको बताउनुभयो।

Back to top button